Kathmandu Press

पीडितको पैसाले रवि र जिवीलाई गाडी 

उक्त ऋण राई र लामिछानेले ‘फोर ह्वीलर लोन’ का रुपमा लिएका छन्।
पीडितको पैसाले रवि र जिवीलाई गाडी 

काठमाडौं, पुस २१ : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बचतकर्ताले राखेको रकमबाट गितेन्द्र राई (जीबी) र रास्वपा सभापति रवि लामिछानेले गाडी खरिद गरेको प्रमाण अदालत समक्ष पेस गरिएको छ। 

आइतबार सरकारी वकीलले जिल्ला अदालत, काठमाडौंमा दायर गरेको अभियोग पत्रसँगै गाडी खरिदको प्रमाण पनि पेश गरेको हो।

अभियोग दाबी अनुसार जीबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको छ। सहकारीको सफ्टवेयरबाट प्रहरीले उक्त प्रमाण जुटाएको हो।

उक्त ऋण राई र लामिछानेले ‘फोर ह्वीलर लोन’ का रुपमा लिएका छन्। पहिलो पल्ट २०७८ साल भदौ ४ गते ४६ लाख ९८ हजार ऋण लिएको अभियोगपत्रमा दाबी छ। 

दोस्रोपल्ट २०७८ साल पुस १ गते पुनः स्वर्णलक्ष्मी सहकारीबाटै रवि र जिवीको नाममै दुई ‘ईको ७ सिटर भ्यान’ लागि ऋण प्रवाह भएको छ। रवि र जिवीले चार पांग्रे कर्जाका लागि भन्दै सहकारीमा ऋण खाता खोलेर निवेदन दिएको तथ्य प्रहरीले फेला पारेको छ।

खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर पहिलो किस्ता ३२ लाख ८८ हजार ६०० रुपैयाँ र दोस्रो किस्ता १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा.लि.लाई चेकमार्फत भुक्तानी गरेको दाबी लिइएको छ। 

अभियोगपत्रमा भनिएको छ, ‘सात सिटर इको भ्यान खरिद गरेर गाडी गोरखा मिडिया नेटवर्क प्रा.लि.ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि.को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि.मा रहेको खातामा भुक्तान गरेको देखिन्छ।’

यसबाहेक लामिछाने समेतले गोर्खा मिडिया नेटवर्क प्रालि.का लागि आवश्यक पर्ने अन्य चारपांग्रे गाडीको लागि समेत सहकारीबाट रकम लगेको दाबी छ। उक्त कर्जाबाट थप गाडीहरु खरिद गरी सो गाडीहरु समेत गोरखा मिडिया नेटवर्कले प्रयोग गरेको अभियोगपत्रमा उल्लेख छ। 

प्रकाशित मिति: २०:१५ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्