स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: कीर्ते हस्ताक्षरबारेको बयानमा छबिले पोले रविलाई
काठमाडौं, पुस २१ : स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रतिबादी बनाईएका छविलाल जोशी वञ्जाडेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानमा पोलेका छन् ।
गोर्खा मिडियाका सञ्चालकसमेत रहेका जोशीले स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा प्रहरीसँग दिएको बयानमा लामिछानेलाई पोलेका हुन् । उनले लामिछानेसँगै गितेन्द्रबाबु (जिबी) राईलाई पनि बयानमा पोलेका छन् ।
जोशीले बयानमा आफ्नो हस्ताक्षर कीर्ते गरेर कम्पनीको उद्देश्य परिवर्तन गराएको भनेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा आइतबार दायर गरेको अभियोगपत्रमा जोशीले यस्तो दाबी गरेका हुन् । अदालतमा प्रतिबादीको बयानलाई पनि महत्वपूर्ण आधार र प्रमाणको रुपमा ग्रहण गरिन्छ ।
‘मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातहरुमा मेरो कीर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई,’ जोशीले प्रहरी बयानमा भनेका छन्, ‘निजहरुको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरुसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरुसँग सहकार्य गर्न छाडेको हुँ ।’
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकीलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा २ अर्ब ४१ करोड बिगो माग दाबीसहित मुद्दा दायर भएको हो । प्रत्येक प्रपतबादीको हकमा अपराधको मात्रा अनुसार छुट्टाछुट्टै विगो दाबी लिइएको छ ।
लामिछानेलाई मात्र स्वर्णलक्ष्मी सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ ।