माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।काठमाडौं, पुस २१ : प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार ‘पार्टी रूपान्तरण र पुननिर्माणको संकल्प:आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुनेछ ।
बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।
यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुंगो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बसिरहेको छ ।