कोरोना देखिएका किशोर उपचारका लागि वीरगञ्ज, थप एक जनामा आरडीटी पोजिटिभ
सर्लाही, वैशाख १२ : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको....

सर्लाही, वैशाख १२ : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ।
उनलाई उपचारका लागि गएराति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए।
बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्यबाहेक कसैको सम्पर्कमा नगएको जनाएको छ। गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताए।
वैशाख ५ गते आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि लगिएको थियो। त्यहाँ किशोरमा कोरोना सङ्क्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो।
उनलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो। टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको थियो।
उनी लकडाउनको बेला गन चैत २३ गते भारतको राजधानी नयाँदिल्लीबाट रौतहटको गौर हुँदै धनकौल फर्केका थिए। सङ्क्रमित किशोर नयाँदिल्लीस्थित एक ब्याग फ्याक्ट्रीमा काम गर्दै आएका थिए। उनी भारतबाट आएको सूचना पाएलगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर राखेको थियो ।
थप एकजनामा आरडीटी पोजेटिभ
ईश्वरपुर नगरपालिकामा बिहीवार आरडिटी गर्दा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको छ। ईश्वरपुर–९ रामनगर निवासी ५८ वर्षीय एक पुरुषलाई आरडिटी विधिवाट कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सर्लाहीका प्रजिअ जिसीले बताए।
उनको स्वाब पिसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ। (रासस)





-1792762148.jpeg)





