Kathmandu Press

चितवन महोत्सव पुस २५ गतेदेखि

चितवन महोत्सवमा घुम्न आउने पर्यटकलाई बस्न, खानमा महोत्सव अवधिभर पर्यटन व्यवसायीसँगको समन्वयमा छुटको व्यवस्था समेत गरिएको छ।
चितवन महोत्सव पुस २५ गतेदेखि

चितवन, पुस २० : चितवनको नारायणगढस्थित नारायणी किनारमा पुस २५ गतेदेखि आगामी माघ १० गतेसम्म १५औ. चितवन महोत्सव आयोजना हुने भएको छ।

महोत्सवले समग्र चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने विश्वास महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले व्यक्त गरे। उनका अनुसार हरेक दुई वर्षमा आयोजना हुने महोत्सव यसपालि १० दिनबाट बढाएर १५ दिन पुर्‍याइएको छ।

सार्वजनिक नीति साझेदारीको नमूना प्रस्तुत गर्दै भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति मुख्य प्रवर्द्धन रहने गरी उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवमा यसपालि चिनियाँ व्यापारी कक्ष रहने आयोजकले जनाएको छ।

Hardik ivf

बेरोजगार युवालाई महोत्सव परिसरमा रोजगारी उपलब्ध गराइने गरी नयाँ कार्यक्रम तयार पारिएको संयोजक श्रेष्ठले जानकारी दिए। त्यहाँ दक्ष र बेरोजगार युवालाई परिसरमा रोजगारी दिने व्यवस्था गरिएको छ। उनले महोत्सवमा रोजगार कक्ष स्थापना हुने बताए।

महोत्सव अवधिभर उद्यम गर्न चाहनेको तथ्यांक लिइने र नवउद्यमीहरूको पहिचान गरिने छ। त्यसपछि संघमा स्थापना भएको रोजगार तथा व्यवसाय सूचना केन्द्रमार्फत रोजगारीका लागि पहल गरिने जनाइएको छ।

त्यस्तै आवश्यक सीप र तालिम सञ्चालन गरी स्वरोजगारका अवसर सिर्पना गरिने महोत्सवका संयोजक श्रेष्ठले बताए।

संघले विगतका वर्षहरूमा पोल्ट्री, डेरी, मौरी र मह, केरालगायत उत्पादनलाई केन्द्रमा राखेर महोत्सव गरिसकेको भन्दै उनले महोत्सवबाट ती क्षेत्रको व्यावसायिक विकासमा सहयोग पुगेको विश्वास व्यक्त गरे।

चितवन महोत्सवमा घुम्न आउने पर्यटकलाई बस्न, खानमा महोत्सव अवधिभर पर्यटन व्यवसायीसँगको समन्वयमा छुटको व्यवस्था समेत गरिएको छ। महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री, तथा उद्योग प्रवर्द्धनका गतिविधि सञ्चालन हुनेछ।

पुस २९ गतेदेखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटक, सूचना प्रविधि, साहित्यलगायत जिल्लाको समग्र सामाजिक, आर्थिक, विकासका सम्भावनामा केन्द्रित विज्ञहरूसहितको राष्ट्रिय सेमिनार आयोजना गरिने छ। यसपटक तोरीको उत्पादन प्रवर्द्धन गर्न मौरीको प्रतिमासहित तोरीबारी पनि निर्माण गरिने छ।

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, पुस २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्