Kathmandu Press

‘वर्तमान सरकार आवश्यकताको सिद्धान्त अनुसार बनेको हो’

मन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने पनि बताए।
‘वर्तमान सरकार आवश्यकताको सिद्धान्त अनुसार बनेको हो’

सप्तरी, पुस १९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार आवश्यकताको सिद्धान्तअनुसार बनेको बताएका छन्। 

सिंहले विगतमा पनि बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएको प्रसंग सुनाउँदै जनचाहनाअनुसार दुई ठुला पार्टी मिलेको बताए। शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो भनाई राखेका हुन्। 

Hardik ivf

‘अहिले संसदको दुई ठुला दल मिलेर सरकार बन्दा कहिँ नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,’  सिंहले भने, ‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो। केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो। बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेको हो।’

मन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने पनि बताए। ठुलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको र यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने सिंहको भनाई थियो। 

कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको पनि सिंहले बताए। 

राजनीति स्थायित्व बिना आर्थिक समृद्धि नहुने उपप्रधानमन्त्री सिंहको भनाई छ। कांग्रेस–एमाले नेतृत्वको सरकारले राजनीतिक स्थीरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको दाबी पनि सिंहले गरे। 

सप्तरीमा रहँदा सिंहले पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने जनाइएको छ। 

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्