Kathmandu Press

लेखा समिति सभापति पोखरेलले हटाए ठगीको आरोप लागेका स्वकीय सचिव 

शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई जानकारी गराएका छन्। 
लेखा समिति सभापति पोखरेलले हटाए ठगीको आरोप लागेका स्वकीय सचिव 

काठमाडौं, पुस १९ : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन्। 

शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई जानकारी गराएका छन्। 

सभापति पोखरेलका स्वकीय सचिव अनिलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए। छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए।

‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सभापति पोखरेलले लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु।’

उच्च अदालत विराटनगरले स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई पुस ११ गते परमादेश दिएको थियो। अनिल पोखरेलले बिहीबारसम्म स्वकीय सचिवका रुपमा काम गरिरहेका थिए।

 

प्रकाशित मिति: ११:४३ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्