स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: १ अर्ब १९ करोड बिगो दाबी गर्न राय, रविको भागमा कति?
मुद्दा दायरपछि काठमाडौंमा पनि उनीहरूको थुनछेक बहस हुनेछ।काठमाडौं, पुस १७ : काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।
सहकारी रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित गितेन्द्रबाबु राई (जीबी राई), पूर्वडीआईजी छविलाल जोशी, कोषाध्यक्ष कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी, दीपक लामासहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने रायसहितको प्रतिवेदन बिहीबार प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो।
अनुसन्धान प्रतिवेदनमा प्रहरीले ४४ जना प्रतिवादीबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी लिन सरकारी वकिललाई राय दिएको छ।
उक्त विगोमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको निष्कर्षमा प्रहरी पुगेको छ। सोही अनुसारको बिगो दाबी गर्दै लामिछानेलाई सजायको माग छ।
यद्यपि उक्त बिगो संयुक्त रूपमा दाबी गरिएको हो। काठमाडौं प्रहरीका अनुसार लामिछाने, जोशी, रम्तेल र राईविरूद्ध संयुक्त रूपमा ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो मागदाबी भएको छ।
स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ।
ठगीमा परेको दाबीसहित ६९० बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए।
अहिले लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्कीमा र अन्य फरार छन्।
प्रहरीको प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ। मुद्दा दायरपछि काठमाडौंमा पनि उनीहरूको थुनछेक बहस हुनेछ।
अहिले पोखराको सूर्यदर्शन सहरकारी ठगीबारे कास्की जिल्ला अदालतमा रविसहित सात जनाविरूद्ध थुनछेक बहस जारी छ। बिहीबार जाहेरवाला सहकारी पीडितका तर्फबाट बहस भएको छ। मंगलबार र बुधबार सरकारी वकिलहरूले बहस गरेका थिए। सरकारी वकिलहरूले रविलगायतका प्रतिवादीहरुलाई पुर्पक्षका लाथि थुनामा पठाउन माग गरेका छन् ।