‘पर्यटनको विकास सरकारले मात्र गर्न सक्दैन्’
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारको तर्फबाट मात्र सम्भव नहुने भन्दै यसका लागि सरकार र निजी क्षेत्रलाई जोडेर काम गर्न नेपाल पर्यटन बोर्ड खडा भएको बताए।
काठमाडौं, पुस १६ : पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको प्रसस्तै सम्भावना भए पनि उपयोग भने गर्न नसकिएको बताएका छन्।
नेपाल पर्यटन बोर्डको २६औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्र माथि पुग्नको लागि कुराभन्दा पनि परिणाममुखी काम गर्न आवश्यक रहेको बताए।
‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना भएता पनि उपयोग गर्न सकेका छैनौं। एकदमै झिनो मात्रामा देशको जिडिपी र स्वरोजगारीमा न्यून योगदान रहेको छ,’ उनले भने, ‘त्यसैले हामीले भन्ने कथाजस्तो वा पूराण वाचनजस्तो पर्यटन क्षेत्रबाट निकै माथि पुग्छौ भन्ने कुराहरु पटक पटक भन्छौ तर यसको कुनै अर्थ छैन। यसका लागि हामीले परिणाम ल्याउनुपर्छ।’
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारको तर्फबाट मात्र सम्भव नहुने भन्दै यसका लागि सरकार र निजी क्षेत्रलाई जोडेर काम गर्न नेपाल पर्यटन बोर्ड खडा भएको बताए।
‘अब पर्यटन क्षेत्रको विकास गर्न केवल सरकार मात्रै सक्षम छैन, यसका लागि निजी क्षेत्र जोडिनुपर्छ,’ उनले भने, ‘सरकार र निजी क्षेत्रलाई जोडेर एउटा सम्बोधनको काम गर्ने एउटा संस्था चाहिन्छ त्यो संस्था नेपाल पर्यटन बोर्ड हुनसक्छ।’












