प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्छन् : राष्ट्रपति पौडेल
‘श्रम र पूँजीलाई संगै अघि बढाउन आवश्यक छ। त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता हो भन्ने मलाई लाग्दछ,’ राष्ट्रपति पौडेलले भने।
काठमाडौं, पुस १६ : राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिनुपर्ने बताएका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताए।
मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए।
‘श्रम र पूँजीलाई संगै अघि बढाउन आवश्यक छ। त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता हो भन्ने मलाई लाग्दछ,’ राष्ट्रपति पौडेलले भने।
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे।
राष्ट्रपति पौड्लल् जेनेभामा भएको ग्लोबल कोलिसन फर सोसियल जस्टिस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उनले स्मरण गरे।
नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए।












