हिजो कांग्रेस एमालेलाई पहिलो बनाइयो, अब एक्लै लडेर हामी पहिलो पार्टी बन्छौं: प्रचण्ड
'माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको छ,' उनले भने।काठमाडौं, पुस १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा एक्लै लडेर माओवादी पहिलो पार्टी बन्ने बताएका छन्।
शनिबार झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा अध्यक्ष प्रचण्डले हिजो कांग्रेस एमालेलाई पहिलो पार्टी बनाएर समय खेर फालिएकोमा अब माओवादी केन्द्र एक्लै लडेर पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।
‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो,’ उनले भने, ‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति देशभरिका जनतामा आशा र भरोसा बढेको पनि बताए। मंसिरमा सम्पन्न उपनिर्वाचनको परिणाम पनि त्यसकै संकेत रहेको उनको भनाइ छ।
'यो २०८४ को निर्वाचनको संकेत हो। माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको छ,' उनले भने।
उनले माओवादी केन्द्रले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको र यसमा जनताको तागत पनि जोडिए भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए।
‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन,’उनले भने, ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’




-1792226847.jpeg)






-1792226847.jpeg)