Kathmandu Press

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित प्रजतान्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै हुने बताएका हुन्। 

सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरुको वृति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो।

सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न  आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए।

खेलमा अनुशासनको महत्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उहाँले खेलकुदको नियम नमान्ने जुनसुकै खेल सङ्घलाई कारबाही गर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबाहदुर बस्नेतले सङ्घको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरे।

उनले ‘सभापति कप फुटलब प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए। 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका  विकृति र विसङ्गतीलाई रोक्न सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने बताए।

उक्त कार्यक्रममा कांग्रेसका नेताहरु, सङ्घका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद सङ्घका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, पुस १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्