‘अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक’
उनले अहिले बदलिँदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको भन्दै चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा एउटा उत्कृष्ट रुपमा प्राणी उद्यान निर्माण आवश्यक रहेको बताएका हुन्।
काठमाडौं, पुस १४ : वन तथा वातारणमन्त्री ऐनबहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले बदलिँदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको भन्दै चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा एउटा उत्कृष्ट रुपमा प्राणी उद्यान निर्माण आवश्यक रहेको बताएका हुन्।
‘बदलिँदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको अवस्था छ। अहिले प्रकृतिको जिम्मा लिने साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्यूनीकरण गर्नेलगायतका कामहरु राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मामा आएको छ,’ उनले भने ‘यो एउटा सफलता हो। चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरकै एउटा उत्कृष्ट रुपमा प्राणी उद्यानको आवश्यक छ।’
उनले नेपाललाई प्रकृतिमय ,पर्यटनको आकर्षणको केन्द्र र समृिद्धका बाटाहरु अगाडि पहिल्याउनका लागि वनसँग धेरै नाता र सम्भावना जोडिएको बताए। जलवायु परिवर्तनको चुनौतीमा नेपाल रहेकाले त्योसँग जुध्न सबैले गरेका पहलकदमीलाई अब कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ।
उनले ललितपुर महानगरपालिकाबाट चिडियाखानाको व्यवस्थापनमा जुनसुकै अविभावकत्व प्राप्त भएको भन्दै अझ यसलाई थप पुँजीकृत गरी नगरपालिकाको हितलाई निरन्तर अगाडि बढाउनका लागि कोषको सम्पूर्ण टिमले पनि मेहेन गर्दै आएको बताए।












