दिक्षीत विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने– विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला
प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे।काठमाडौं, पुस १३ : प्रधानमन्त्री केपी ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयद्वारा शनिबार दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे।
‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ।’
प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन आग्रह गरे।
‘हामीले बनाउन खोजेको समाज एउटा इमान्दार समाज हो। सुसंस्कृतिक समाज हो। लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले बाँचेका छन्। सम्मानित जीवन बाँचेका छन्। सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सिप प्रविधि प्रयोग गर्न सक्नुपर्छ।’
उनले आफूले प्राप्त गरेको ज्ञान, सिप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे। उनले विद्यार्थीहरुलाई देशको लागि सुयोग्य नागरिक बन्न समेत आग्रह गरे।