राष्ट्रपति पौडेलद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।काठमाडौं, पुस १२ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार शोक सन्देशमार्फत सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले सिंहलाई एक दूरदर्शी नेताका रूपमा सम्झिँदै उनको निधनले दक्षिण एसियालाई नै क्षति पुगेको बताएका छन् । ‘डा.सिंह भारतका दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँको निधनले भारत र दक्षिण एशियामा अपूरणीय क्षति पुगेको छ । म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना र समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले शोक सन्देशमा भनेका छन् ।
सिंहको बिहीबार राति उपचारका क्रममा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको थियो।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी अर्थमन्त्री रहेका थिए । सिंह भारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छन्।