२७ करोड गैरकानुनी आर्जनबारे अदालतमा रविको बयान- कारोबार मात्रै हो, आम्दानी होइन
कास्की अदालतमा सकियो रवि लामिछानेको बयानकाठमाडौं, पुस १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा रकम कारोबार विवरण देखाइए पनि गैरकानुनी रूपमा सम्पत्ति आर्जन नगरेको दाबी गरेका छन् ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बयानका क्रममा लामिछानेले उक्त दाबी गरेका हुन् ।
‘मेरो खातामा आउने/जाने गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइए पनि गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम गरेको छैन,’ बयानमा लामिछानेले भनेका थिए ।
लामिछानेविरुद्ध दायर अभियोगपत्रमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी आर्जन गरेको दाबीसहित सम्पत्ति शुद्धिकरणको अभियोग लगाइएको छ।
बयानका क्रममा लामिछानेले आफू कुनै पनि सहकारीको सेयर सदस्य, सञ्चालक लगायत कुनै पदमा नभएको दाबी गर्दै सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको पैसा लैजाने निर्णय प्रक्रियामा आफू संलग्न नरहेको भनेका छन्।
सहकारीको पैसा गोर्खा मिडिया नेर्टवर्क प्रालिमा गैरकानुनी रूपमा गएको आरोप बारे गरिएको सबालमा लामिछानेले उक्त प्रश्न जिबी राईसँग सोध्नुपर्ने भनेका छन् ।
लामिछानेसँग बिहीबार र शुक्रबार बयान लिइएको थियो। उनको बयान सकिएको छ।
यसअघि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काश्कीले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ६३ जनाविरूद्ध जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।