२१ जना न्यायधीशको सरूवा
परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको हो।
काठमाडौं, पुस १२ : न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च र जिल्ला अदालतका २१ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।
परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको हो।
परिषदको निर्णय अनुसार भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा समेत न्यायाधीश हेरफेर गरेको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले उक्त विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो।
परिषदले लामो समयदेखि विशेषमा कार्यरत न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गर्ने निर्णय लिएको छ ।
थारुलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरिएको छ । उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोक्न परिषद्ले सिफारिस गरेको छ।
परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले कोइरालालाई न्यायाधीशमा नियुक्ति गर्नेछ।
यस्तै, परिषदे राजश्व न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय समेत गरेको छ । प्याकुरेलको निर्णय पनि मन्त्रीपरिषद्ले पारित गरेपछि लागू हुनेछ।
न्यायाधिकरणमा यसअघि उच्च अदालत पाटनकै न्यायाधीश रमेश ढकाल अध्यक्ष थिए । ढकालको स्थानमा प्याकुरेललाई ल्याइएको हो ।












