Kathmandu Press

एकीकृत समाजवादी र वामदेव गौतमको पार्टीबीच एकता प्रक्रिया सुरू

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ।
एकीकृत समाजवादी र वामदेव गौतमको पार्टीबीच एकता प्रक्रिया सुरू

काठमाडौं, पुस १२ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ।

दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरी एकताका लागि वैचारिक दृष्टिकोण, कार्यदिशा, व्यवस्थापकीय जिम्मेवारीलगायत विषयमा सम्पूर्ण खाका तयार पार्न लागिएको हो।

Hardik ivf

जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मूल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ।

एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने जनाइएको छ।

पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकता प्रक्रियालाई दीर्घकालीन बनाउन दुवै पार्टीका शीर्षनेताहरूबीच अनौपचारिक भेटघाट तथा छलफलसमेत गरिएको जानकारी दिए। सोही छलफलका निष्कर्षका आधारमा एकता प्रक्रियालाई टुङ्गो लगाइने जनाइएको छ ।

समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिक रूपमा निकट समूहलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको छ।

पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच भएको छलफलपछि एकता प्रक्रियालाई अगाडि बढाउन समझदारी भएको हो।

प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्