शुक्रबार साँझ भित्रँदैछ पानी पार्ने प्रणाली, कहाँ-कहाँ हुन्छ वर्षा र हिमपात?
वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने पूर्वानुमानकाठमाडौं, पुस ११ : जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि अर्को प्रणाली भित्रने जनाएको छ।
बिहिबार अपराह्न विशेष बुलेटिन जारी गरेर महाशाखाले शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणाली भित्रने र त्यसका कारणले नेपालका धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिएको हो।
उक्त प्रणालीका कारण शुक्रबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।
त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
उक्त प्रणालीका कारण तापक्रम घट्ने र त्यसले चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
'तसर्थ वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सवै सरोकारवाला निकायहरूमा अनुरोध छ,' महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।