राजपा र समाजवादीबीच पार्टी एकताको तयारी, शीर्ष नेताहरू छलफलमा
काठमाडौं, वैशाख ९ : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता गर्ने तयारी गरिएको छ। एकताको तयारीस्वरुप दुई पार्टीका शीर्ष नेता छलफल....

काठमाडौं, वैशाख ९ : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता गर्ने तयारी गरिएको छ। एकताको तयारीस्वरुप दुई पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन्।
सरकारले पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दल सम्बन्धी कानून संशोधन गर्न अध्यादेश ल्याएपछि दुवै पार्टीमा संशय पैदा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र समाजवादी पार्टी फुटाएर आफू थप बलियो हुन अध्यादेश ल्याएको विश्लेषण भइरहेको छ। यही अवस्थामा दुई दलका नेता छलफलमा जुटेका छन्।
‘सरकारले ल्याएको अध्यादेशले संशय पैदा गरेको छ। त्यसैले एकताको प्रयासमा हामी जुटेका छौं,’ समाजवादी पार्टीका एक नेताले काठमाडौंप्रेससँग भने, ‘अहिले शिर्ष नेताहरु छलफलमा हुनुहुन्छ।’
तर, उनले छलफल कहाँ भइरहेको छ भन्नेबारे खुलाउन चाहेनन्। एकताका लागि निर्णायक छलफल भने चलिहेको उनको भनाइ छ।
‘निर्णायक छलफल चलिरहेको छ। यदि सहमति भए एक–दुई दिनभित्रै एकता घोषणा हुन सक्छ,’ उनले भने। यसअघि पनि दुई पार्टीबीच एकताका प्रयास भएका थिए। तर, त्यसले मूर्तरुप लिन सकेको थिएन।
बैठकमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महासचिव केशव झा सहभागी छन् भने समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।





-1792762148.jpeg)





