स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
काठमाडौं, पुस ११ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ।
आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए। त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ।
निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी संगठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए।
अनेरास्ववियुका अध्यक्ष समिक वडालले स्ववियु निर्वाचनको तयारी आफ्नो संगठनले गरिरहेको बताए। उनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पार्नका लागि उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा स्ववियु घोषणापत्र तयारी कमिटी गठन गरिएको बताए।
यस्तै नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाइसकेको जानकारी दिए। उनले सबै क्याम्पसमा संगठन विस्तारका साथै स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिएको बताए।
प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन। वि.सं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्यतिबेला नौ आंगिक क्याम्पस निर्वाचन हुन सकेको थिएन।
स्ववियु निर्वाचनमा देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ।












