प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूतबीच भेटबार्ता
भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविधि विषय, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविधि विषय, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरिरहेको र यसमा आबद्ध मुलुकहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।
दुई मुलुकबीच आपसी समस्या हुनसक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने उल्लेख गर्दै उनले भने–‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम तथा स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको छ।’
राजदूत हस्मीले आफूहरु पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए। उनले आफूहरु आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको समेत बताए।












