सांसदबाट निलम्बित भए रवि लामिछाने [पत्रसहित]
संघीय संसद सचिवालयले प्रकाशन गर्यो निलम्बनको सूचनाकाठमाडौं, पुस ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्।
सोमबार संघीय संसद सचिवालयले रवि लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशन गरेसँगै लामिछाने सांसदबाट निलम्बित भएका हुन्।
कास्कीको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरूद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण लगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।
सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि त्यस्तो मुद्दा लागेका राष्ट्रसेवक पदबाट निलम्बित हुने व्यवस्था छ।
सोहीबारे जानकारी गराउँदै आइतबार जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएको थियो।
आइतबार अबेर गरी पत्र आएकाले संघीय संसद सचिवालयले सोमबार मात्रै उक्त सूचना प्रकाशित गरेको हो।
'... सरकारी वकील कार्यालय, कास्कीको पत्र प्राप्त हुन आएको हुँदा उक्त पत्र संलग्न राखी पठाइएको भन्ने समेत व्यहोरा उल्लेख गरी जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारवाही शाखा), कास्कीबाट (प.सं. २०८१/०८२ च.नं. ११५२७ मु.द.नं. ६८ (०८०।०८१ ) ) मिति २०८१/०९/०७ मा सम्माननीय सभामुखलाई सम्बोधन गरी पत्र प्राप्त भएको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा “प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्वन भएको मानिनेछ” भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ,' सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ।