हिरासतमुक्त भए दुर्गा प्रसाईं, प्रहरीको अनुसन्धान जारी रहने
प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
काठमाडौं, पुस ५ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमुक्त भएका छन्।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंलाई शुक्रबार साँझ हिरासतमुक्त गरेको हो।
प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
सर्वोच्च अदालतले शुक्रबार बन्दी प्रत्येक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो।
प्रसाईंलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको रिट दिएका थिए।
न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईंको पक्षमा आदेश दिएको थियो।
आदेशपछि सिआइबीले उनलाई रिहा गरेको हो।
रिहा भएपनि उनीविरूद्ध अनुसन्धान जारी रहने सिआइबी प्रवक्ता बोगटीले जानकारी दिएका छन्।
उनीमाथि प्रहरीले संगठित अपराध कुसरमा अनुसन्धान गरिरहेको छ।
नेपाली व्यवसायीहरूलाई भारतीय गुण्डा नाइके लरेन्स बिस्नोईको नाम लिएर धम्की दिने र रकम माग्ने कार्यमा मान्छे खटाएको प्रसाईंमाथि आरोप छ।
त्यसरी धम्की दिने व्यक्तिलाई प्रहरीले समातेर अनुसन्धान गर्दा उनले प्रसाईंकै निर्देशनमा त्यस्तो काम गरेको बयान दिएका थिए। सोबारे अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ।












