भोटको राजनीति गरेकै कारणले हामीहरुलाई जनताले प्रश्न तेर्साउने गरेका छन् : मन्त्री दाहाल
उनले थुप्रै आयोजनाहरु निर्माण व्यवसायिले लिने तर निर्माण नगरि लथालिंग अवस्थामा छोड्ने गरेको बताए।
काठमाडौं, पुस ५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हामीहरु भोटको राजनीति गरिरहेको बताएका छन्।
मन्त्री दाहालले शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले भोटको राजनीति गरेकै कारणले हामीहरुलाई जनताले प्रश्न तेर्साउने गरेको बताए।
‘हामी त फेरी भोटको राजनीति गरिरहेका छौं। जनताले खै हाम्रो पुल बनेको? खै मेरो बाटो बनेको भनेर प्रश्न तेर्साउने नै भए । एकातिर बजेटको अभाव छ भने एकातिर सिमित स्रोतसाधन छन्,’ उनले भने, ‘अर्कोतिर धेरै जनताको आकांक्षाहरु रहेका छन्। जनताको मानसिकतामा हामी राजनीतिकर्मीहरुले परिवर्तन ल्याउनुपर्छ। नेताको आफ्नो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ, हामी सबै परिवर्तित हुनुपर्छ।’
उनले निर्माणका कार्यहरुमा सरकारको मात्र कमिकमजोरी नभएर निर्माण व्यवसायीको समेत कमीकमजोरी भएको बताए। उनले थुप्रै आयोजनाहरु निर्माण व्यवसायिले लिने तर निर्माण नगरि लथालिंग अवस्थामा छोड्ने गरेको बताए।
‘हाम्रो मन्त्रालयबाट भुक्तानी धेरै चुक्ता भइसकेको छ। तर हामीले तथ्यांकमा धेरै विवाद गर्नु हुँदैन। अहिलेसम्म हामीले पहुँचका आधारमा माथिल्लो तहबाटै योजना छनोट गर्ने गरेका छौं, यसले काम हुन सकेन,’ उनले भने, ‘त्यसैले अब तलबाट योजना छनोट गर्ने विधि आवश्यक छ, योजना छनोटमा सुधार आवश्यक छ।’
मन्त्री दाहालले प्राथमिकताका आधारमा छनोट गरेर काम गरे मात्र निर्माण क्षेत्रको समस्यामा कमी आउने बताए।










![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)
