शेखर कोइरालाले सुदूरपश्चिमबाट महाधिवेशन लक्षित अभियान सुरु गर्ने
कोइरालाले शनिबार विहान भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने जनाइएको छ। दिउँसो उनले प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन्।
काठमाडौं, पुस ४ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमबाट महाधिवेशनको अभियान सुरु गर्ने भएका छन्।
नेता कोइरालाले १५ औँ महाधिवेशन लक्षित अभियानको तयारी थालेका छन्। कोइराला शुक्रबार सुदूरपश्चिम प्रदेशको मुकाम रहेको धनगढी जान लागेका उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार, धनगढीमा नौ जिल्लाका कार्यकर्तासँग भेटघाट र पार्टीका विभिन्न कार्यक्रममा उनले सम्बोधन गर्ने तालिका छ। जसअनुसार शुक्रबार नौवटै जिल्लाका कार्यकर्तासँग छुट्टाछुट्टै भेट गरी उनले अभियानलाई जिल्ला तहमै सुरु गर्न आह्वान गर्नेछन्।
कोइरालाले शनिबार विहान भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने जनाइएको छ। दिउँसो उनले प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन्।
यस्तै, स्थानीय तहका जनप्रतिनिधिसँग पछि अन्तक्रिया गर्ने तयारी समेत रहेको सचिवालयले जनाएको छ। कोइराला नौवटै जिल्लाका स्थानीय तहका प्रतिनिधि र जिल्ला, क्षेत्र र स्थानीय तहका सभापति तथा पदाधिकारीसँग अन्तरक्रियापछि काठमाडौं फर्कने सचिवालयले जनाएको छ।












