कास्की प्रहरीले भन्यो– लामिछानेको तस्बिर बाहिर ल्याउनेमाथि कारबाही हुन्छ
कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा.निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको जनाएको छ।
कास्की, पुस ४ : कास्की जिल्ला प्रहरी कार्यालयले हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएको छ।
कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा.निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको जनाएको छ।
कास्की प्रहरीले एक विज्ञप्तिमार्फत यसमा संलग्नलाई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको बेहोरा अनुरोध गर्दछ। गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
गृहमन्त्री रमेश लेखकले विहीबारै हिरासतभित्र रहेका रास्वपा सभापति रवि लामिछानेको तश्विर बाहिर ल्याउने कार्यमा संग्लनमाथि कारवाही गर्न निर्देशन दिएका थिए।
लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका थिए।












