अनिल साह घाइते, सुदूरपश्चिम विरूद्धको क्वालिफायर गुमाउने!
चिवतन राइनोज् विरुद्धको खेलमा ब्याटिङ गरेर पभेलियन फर्कने क्रममा अनिलको औंलामा चोट लागेको थियो।सिद्धार्थ प्रिमियर नेपाल प्रियिमर लिग (एनपिएल) मा बुधबारदेखि प्लेअफका खेल सुरु हुँदैछन्।
प्लेअफको क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा एलिमिनेटरमा चिवनल राइनोज् र कर्णाली याक्स भिड्ने छन्।
लिगमा शीर्ष २ मा रहँदै क्वालिफायरमा पुगेको जनकपुर बोल्ट्सलाई खेलअघि नै ठूलो झट्का लागेको छ। उसले कप्तान तथा ओपनर अनिल साहविना नै क्वालिफायर खेल्ने सम्भावना बढेको छ।
बुढी औंलामा चोट लागेका कारण अनिलले भोलि हुने सुदूरपश्चिम विरुद्धको क्वालिफायर गुमाउने सम्भावना अत्यधिक रहेको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले काठमाडौं प्रेसलाई जानकारी दिए।
खतिवडाका अनुसार गत शनिबार चिवतन राइनोज् विरुद्धको खेलमा ब्याटिङ गरेर पभेलियन फर्कने क्रममा अनिलको औंलामा चोट लागेको थियो।
जनकपुर ३२ रनले पराजित भएको सो खेलमा अनिलले ६ बलमा २ चौका प्रहार गर्दै ८ रन बनाएका थिए।
‘चितवन विरुद्धको खेल ब्याटिङ गरेर फर्कने क्रममा अनिलको औँला फ्याक्चर भएको छ। अहिले प्लास्टर गरिएको छ। भोलि खेल्ने सम्भावना एकदमै न्यून छ,’ प्रबन्ध निर्देशक खतिवडाले भने, ‘भोलि बिहान हुने टिम मिटिङपछि मात्र अनिल खेल्ने–नखेल्ने टुंगो लाग्छ।’
महत्त्वपूर्ण खेलमा आफ्ना कप्तान गुमाए जनकपुर दबाबमा आउनेछ। अनिलको ब्याटबाट राम्रै रन बनिरहेकाले त्यसको अभाव खेलमा पर्ने सक्नेछ। अनिलले ७ खेलमा १ अर्धशतकसहित कुल १३२ रन बनाएका छन्।
अनिल नखेले टिमको कप्तानी मार्की खेलाडी आसिफ सेखले गर्ने छन् भने उनको स्थानमा यू–१९ टिमका इनफर्म ब्याट्सम्यान आकाश त्रिपाठीले एनपिएलमा डेब्यूको अवसर पाउन सक्छन्।