घुमाउरो ढंगले बालेनको विरोध गर्दै प्रधानमन्त्रीले भने- ललितपुरको नगरप्रहरीले त्यसो गरेको छैन
उनले महानगरका नगर प्रहरी आतंकको पर्याय नभई नागरिकको रक्षक रहेको पनि बताए।
काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो ढंगले काठमाडौं महानगरपालिका र मेयर बालेन शाहको प्रवृत्तिमाथि आपत्ति जनाएका छन्।
मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौंको नगरप्रहरीले आम नागरिकहरूप्रति गरेको व्यवहारको घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गर्दै ललितपुर महानगरको नगर प्रहरीले नागरिकहरूमा आतंक नफैल्याएको बताएका हुन्।
'ललितपुर प्रहरीले अर्कै लोकको मान्छे आएको जसरी गुरूर्र जिपमा आयो। झ्याप्प गाडी रोकेर, गन्द्रङ, गन्द्रङ फाल हानेर पिरपिर सिठ्ठी बजाउँदै । यता फाल्दै, उता फाल्दै। ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै गरेको मैले देखेको छैन,' प्रधानमन्त्री ओलीले भने।
त्यसो नगरेकाले उनले ललितपुर महानगरपालिकाको नगर प्रहरीलाई प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिए।
उनले महानगरका नगर प्रहरी आतंकको पर्याय नभई नागरिकको रक्षक रहेको पनि बताए।
'लौ आयो! कता भागौं, के गरौं! यस्तो हुनुहुँदैन,' प्रधानमन्त्री ओलीले भने, 'कोही घडी फुकालेर खल्तीमा लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने। यस्तो अवस्था नहोस्।'












