एमालेलाई जग्गा दान विवादको रिट सर्वोच्चद्वारा खारेज
रिट खारेजी भएसँगै सर्वोच्च अदालतले गुरुङबाट लिएके जग्गा दान कानुनसम्मत ठहरिएको छ। जग्गादानको घोषणाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए।
काठमाडौं, पुस १ : भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयविरुद्ध दर्ता भएको रिट निवेदन खारेज भएको छ।
रिट खारेजी भएसँगै सर्वोच्च अदालतले गुरुङबाट लिएके जग्गा दान कानुनसम्मत ठहरिएको छ। जग्गादानको घोषणाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए।
सुनुवाई सकिएपछि सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट निवेदन खारेज हुने फैसला गरेको हो। एमाले मुख्यालय बनाउन व्यवसायी गुरुङले जग्गादान दिएका थिए। यो विवादमा सर्वोच्चले निरन्तर सुनुवाइ गर्दै आएको थियो।
यसअघि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासबाट जग्गा दानको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो। सर्वोच्चमा पुगेको रिटमा प्रारम्भिक सुनुवाईपछि सर्वोच्चको एकल इजलासले १२ कार्तिकमा अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो।
रिट नै खारेज भएपछि उक्त आदेश र मुद्दाको औचित्य समेत सकिएको छ। व्यवसायीले गुरुङले एमालेको केन्द्रिय कार्यालय बनाउन जग्गादानको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो।












