निर्मला शर्मा बनिन् पत्रकार महासंघको पहिलो महिला अध्यक्ष, महासचिवमा दाहाल
नेपाल पत्रकार महासंघले इतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ। निर्मला शर्मा दोस्रो प्रयासमा महासंघको नेतृत्वमा पुगेकी हुन्।
काठमाडौं, मंसिर ३० : नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छिन्। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम भने घोषणा गरिको छैन।
निर्मला सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकट नेपाल प्रेस यूनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार बनेकी थिइन्।
योसँग नेपाल पत्रकार महासंघले इतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ।
शर्मा दोस्रो प्रयासमा महासंघको नेतृत्वमा पुगेकी हुन्। महासंघको २६औं अधिवेशनमा उनी प्रेस युनियनका विपुल पोखरेलसँग पराजित भएकी थिइन्।
गत शुक्रबार भएको निर्वाचनमा शर्मा नेतृत्वको प्यानलले रमेश विष्ट नेतृत्वको समूहलाई पराजित गर्दै जित हासिल गरेको हो।
यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनीहरु पनि शर्मा प्यानलकै हुन्।
अन्य पदाधिकारीमा खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, समावेशी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा वैकुण्ठराज पराजुली निर्वाचित भएका छन्। उनीहरू पनि शर्मा प्यानकै हुन्।
महासंघ पदाधिकारीमा विपक्षी प्याननले कोषाध्यक्ष भने जितेको छ। विष्ट प्यानलबाट उम्मेदवार बनेका रामकृष्ण अधिकारीले कोषाध्यक्षमा जित निकालेका हुन्। यस्तै, लेखा समिति संयोजकमा केसी लामिछाने विजयी भएका छन्।
केन्द्रीय निर्वाचन समितिले औपचारिक रुपमा निर्वाचन परिणाम घोषणाको तयारी गरेको छ। अहिले केन्द्रीय निर्वाचन समितिद्वारा मतको रुजु भइरहेको छ।
शुक्रवार महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्वका लागि चुनाव भएको थियो।












