जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष दाहाल
‘प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन्, हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं।’-(17)-1734186936.jpg)
रुपन्देही, मंसिर २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन्।
रुपन्देहीको तिलोत्तमामा आज आयोजित नेकपा माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सो कुरा बताएका हुन्।
‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन,’ उनले भने, ‘प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन्, हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं।’
स्थानीय तहको उपनिर्वाचनले माओवादी रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको उनले बताए।
‘जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ,’ उनले भने।
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए।
आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए।
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उनले दिए।












