बारले प्रतिनिधि नपठाउँदा न्यायाधीश नियुक्तिमा समस्या भयो : कानुनमन्त्री
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले उक्त भनाइ राखेका हुन्।-1723202823.jpg)
काठमाडौं, मंसिर २८ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एसोसिएसनले प्रतिनिधि नपठाउँदा न्यायाधीश नियुक्ति गर्न नसकिएको गुनासो गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले उक्त भनाइ राखेका हुन्।
‘सर्वोच्च अदालतमा अझै चारजना न्यायाधीशको नियुक्ति हुन बाँकी रहेको तर, बारले प्रतिनिधि नपठाइदिँदा पदपूर्ति हुन सकेको छैन । बारले प्रतिनिधि पठाउनेबित्तिकै न्यायाधीश नियुक्ति हुन्छ,' उनले भने।
सर्वोच्च अदालतमा चारजना न्यायाधीश थप गर्दा पनि बाँकी मुद्दा सक्न कठिन रहेको पनि मन्त्री चौरसियाले बताए।
सर्वोच्चमा अझै चारपाँचजना न्यायाधीश थप गर्न आवस्यक रहेको पनि बताए । यस्तै, आमनागरिकको भरोसा न्यायपालिकालाई बनाउने गरी सरकार अघि बढिरहेको भनाइ पनि मन्त्री चौरसियाले राखे ।
‘सर्वोच्चमा कति चाप छ, मलाई लाग्छ अहिले पनि २६ हजार मुद्दा होलान्, सर्वोच्चमा । चारजना जजको पद रिक्त छ । बारको आन्दोलनका कारण दुईजना मात्रै भयो, चारजना बाँकी नै छ । चारजना नियुक्ति गर्दा पनि सर्वोच्चमा मुद्दाको चापअनुसार कम छ,’ कानुनमन्त्री चौरसियाले भने, ‘अझै चार/पाँचजना थप्नुपर्छ । प्रोत्साहन भत्तादेखि, कर्मचारीदेखि लिएर न्यायाधीशको संख्या थप्ने कुराहरु छन् । यी सबै कुरा म सरकारमा राख्छु । न्याय क्षेत्रको नियुक्तिहरू मलाई विश्वास छ, बारले प्रतिनिधि पठाउनासाथ नियुक्ति हुन्छ।’












