टिआरसी पदाधिकारीमा सर्टलिष्टमा परेकाहरुको प्रस्तुतिकरण सुरु
दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिएकाहरूमध्येबाट सर्टलिस्टमा परेकाहरूको प्रस्तुतीकरण बिहीबारदेखि सुरु भएको छ।काठमाडौं, मंसिर २८ : संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिले प्रक्रिया अघि बढाइएको छ।
दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिएकाहरूमध्येबाट सर्टलिस्टमा परेकाहरूको प्रस्तुतीकरण बिहीबारदेखि सुरु भएको छ। समिति समक्ष सत्यनिरुपण र बेपत्ता आयोगका लागि अध्यक्षसहित सदस्यहरूका लागि १५६ जनाको आवेदन परेको थियो।
समितिले अध्यक्षसहित ४० जनाको नाम सर्टलिस्ट गरेको छ। अध्यक्षका लागि ८ जनाको सर्टलिष्ट तय भएको छ। सर्टलिस्टमा परेकाहरूमध्ये १६ जनाको प्रस्तुतीकरण विहीबारका लागि तय भएको छ।
समितिले प्रस्तुतीकरण सकिएपछि आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्नेछ । सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा आयोगका पदाधिकारी छनोट तथा सिफारिस समिति गठन गरेको थियो।
समितिमा पूर्वराजदूत डा.अर्जुन कार्की, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, जनजाति महासंघकी पूर्वमहासचिव स्टेला तामाङ र राष्ट्रिय मानवअधिकार आयोगको तर्फबाट आयुक्त मनोज दवाडी सदस्य छन्।