Kathmandu Press

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, वैशाख ९ : स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भ....

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, वैशाख ९ : स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको हो। उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा रहेको जनाएको छ। 

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नपश्चात् पहाडी भू–भागका केही स्थानमा र पश्चिमी तराईका एक–दुई स्थानमा हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ। बिहीबार पश्चिमका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू–भागका केही एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा एक दशमलव ६ मिलिमिटर वर्षा भएको छ। यस्तै पोखरामा २ दशमलव २, धरानमा २ दशमलव ३, जोमसोममा १ दशमलव ५ र जिरीमा २ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्