Kathmandu Press

लकडाउनको कारण मातातीर्थ मेला स्थगित

काठमाडौं, वैशाख ९ : प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध....

लकडाउनको कारण मातातीर्थ मेला स्थगित

काठमाडौं, वैशाख ९ : प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनको कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए। मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँने गरेका छन्।

आमा नहुनेहरु भने राजधानीको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा छ। वैशाख कृष्ण औँसीका दिन यहाँ लाखौँ भक्तजनको भीड लाग्ने गर्छ। मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा छ।

स्थानीयलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न भनिएको नगर प्रमुख गिरीले बताए। अवज्ञा गरी हिँड्नेलाई स्थलगतरूपमा एक सय रुपैयाँ जरिवाना गरिने नगरपालिकाले जनाएको छ। लकडाउन उलंघन गर्नेबाट नगरपालिकाले हालसम्म जरिवानास्वरुप ७० हजार रुपैयाँ संकलन गरिसकेको छ। मातातीर्थ संरक्षण समितिको नेतृत्वमा मन्दिरमा नित्यरूपमा हुने पूजाआजा भने जारी रहने उनले बताए। यस वर्ष वैशाख ११ गते बिहीबार आमाको मुख हेर्ने औँसी परेको छ।

प्रकाशित मिति: १०:५१ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्