Kathmandu Press

छलफल चलिरहेकै समयमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक प्रभावित

काठमाडौं, वैशाख ८ :  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका दुई अध्यादेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिर....

छलफल चलिरहेकै समयमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक प्रभावित
फाइल फोटो

काठमाडौं, वैशाख ८ :  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका दुई अध्यादेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेका बेला जारी गरिदिएपछि बैठक प्रभावित भएको छ।

मुलुक कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको समयमा बिना छलफल सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुको विरोध भएपछि नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक राखेको थियो। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको सुरूमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरेपछि नेताहरुले आ-आफ्नो धारणा राखेका थिए। तर, बैठक जारी रहेकै बेला राष्ट्रपति भण्डारीले दुवै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठकले कुनै निर्णय लिन सकेन।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल चलिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेकाले त्यसबारेमा कुनै निर्णय लिने सक्ने अवस्था नबनेको बताए।

‘सरकारले ल्याएका अध्यादेशका विषयमा सचिवालयमा गम्भीर छलफल भइरहेको थियो। तर राष्ट्रपतिज्यूले अध्यादेश नै जारी गरिसकेको जानकारी आएपछि त्यसबारेमा कुनै निर्णय लिन सकिएन,’ प्रवक्ता श्रेष्ठले भने,‘बैठकमा सचिवालयका सबै साथीहरुले आआफ्नो धारणा राख्नु भयो।’

उनले बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सवैधानिक निकायको नियुक्तिमा ढिलाइ भएकाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको बताएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले बैठकमा अध्यादेशका विषयमा कुरा राख्नु भयो। उहाँले संवैधानिक परिषदले गर्ने धेरै काम अड्किएकाले सजिलोका लागि अध्यादेश ल्याउनु परेको विषय प्रष्टाउनु भयो,’ श्रेष्ठले भने,‘पार्टीभित्र यी विषयमा गम्भीर समीक्षा आगामी दिनमा पनि हुन्छ।’ 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

प्रकाशित मिति: २१:१५ बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्