‘जवान’ मिर्गौलासँग गति मिलाउँदै प्रधानमन्त्री
काठमाडौं, वैशाख ८ :'साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गौला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सके....

काठमाडौं, वैशाख ८ :'साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गौला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन।' गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्,'जवान मिर्गौलाले बढी काम गरौँ भन्छ, उसले बढी पानी खा, व्यायाम गर् भन्छ। म कोरोना प्रकोपको रोकथाम र नियन्त्रणमा लागिरहेको छु। यसमा सक्रिय रहँदा मलाई एक प्रकारको व्यायाम मिलको छ।'
प्रधानमन्त्री ओलीलाई उनकी ३२ वर्षीया भाञ्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दिएकी थिइन्। फागुन १९ गते प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली २१ गते मिर्गौला प्रत्यारोपणपछि फागुन ३० गते अस्पतालबाट निवास फिर्ता फर्किएका थिए।
अहिले प्रधानमन्त्री ओली पहिले जस्तो आफैँ मोबाइल आफैँ उठाएर कुरा गर्दैनन्, अरूले उठाएको मोबाइलमा कुरा गर्ने गरेका छन्। आफूले गर्नुपर्दा पनि जरुरीबाहेक सहयोगीले सम्पर्क गराइदिन्छन्। प्रत्यारोपणका क्रममा उनको देब्रे खुट्टाका नसा अलि तानिएकाले त्यो बल्ल ठीक हुने स्थितिमा छ। उनको शरीरमा प्रतिरोधी क्षमताको औषधि चलाइएकाले कहिलेकाहीँ मधुमेह र न्यून रक्तचापको समस्या हुने गर्छ। प्रत्यारोपणको पुरानै बिरामी भएकाले यसको सामना गर्न आफू अभ्यस्त भएको उनी बताउँछन्।
प्रधानमन्त्रीले शनिबार सरकारी स्वामित्वका सञ्चार माध्ययमसँग अन्तर्वाता दिद्यदै आफ्नो स्वास्थ्य स्थिती र दैनिकीबारे बताएका थिए। 'म ठीक छु, स्वस्थ छु। अन्यथा यसरी तपाईँहरूसमक्ष उपस्थित हुने थिइन मेरो प्रत्यारोपण सफल हुनुलाई मैले जनता र पार्टीले मेरो काँधमा उत्तरदायित्व थपेको महसुस गरेको छु। यस्तो अवस्थामा आम मानिस हुँदो हो त यतिबेला ऊ अस्पतालमै आराम गरिरहेको हुन सक्थ्यो, संयोगले म तपाईँहरूसँग छु।' मिर्गौला प्रत्यारोपण गर्नु अघि गत मङ्सिरमा उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। उक्त समयमा उनी १० दिन अस्पताल बसेका थिए ।
प्रधानमन्त्री ओलीले आफूलाई आहार, व्यायाम र आराम आवश्यक रहेकापनि हाल आराम नपुगेको प्रतिक्रिया दिएका छन् । उनले आफू सामान्यतः बिहान ५ बजे उठेर राति १ बजे सुत्ने गरेको बताउँदै भने, 'सुत्ने समय बढाऊँ भन्छु तर व्यवस्थापन गर्न सकिरहेको छैन। ढिलो सुत्ने मेरो पुरानो बानी पनि हो।'
प्रधानमन्त्री ओली अस्पतालमा रहँदा मुलुकमा कोरोना भाइरसको जोखिम बढिरहेको थियो। उनी अस्पतालबाट निवास फर्किएको १० दिनपछि मुलुकमा लकडाउन आदेश जारी भएको थियो।
सरकारलाई तथ्यहीन आरोप लगाउने र आफ्नो स्वास्थ्यबारे अनावश्यक टिप्पणी भएको भन्दै उनले भने, 'बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन्। मबाट यसभन्दा बढी के अपेक्षा गर्ने? आफैँ बिरामी भएर पनि देशलाई संक्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो। मेरो काम गर्ने बानी छ, गरिरहन्छु। म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु। मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन। बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो। त्यो गरिरहन्छु।'
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली बिहान चाँडै उठेर घटनाक्रममा अद्यावधिक हुने तथा मन्त्री, सुरक्षा निकायका प्रतिनिधि र आवश्यक भेटघाट तथा निर्देशन दिने काम गर्दै आएका छन्। हाल पत्रपत्रिका नियमित अध्ययन नगरे पनि प्रधानमन्त्री सामाजिक सञ्जालबाट नियमित अपडेट हुने गरेको उनले बताए।रासस





-1792762148.jpeg)





