Kathmandu Press

पार्टी प्यालेसमा तरकारी बजार चलाउने महानगरको योजना 

काठमाडौं, वैशाख ८ः काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनका लागि ....

पार्टी प्यालेसमा तरकारी बजार चलाउने महानगरको योजना 

काठमाडौं, वैशाख ८ः काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट जोगिन निसंक्रमणयुक्त तरकारी बजारको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताएकी छन्। नेपाली संघले सामाजिक उत्तरदायित्वअन्तर्गत बसुन्धरामा सञ्चालन गरिरहेको तरकारी प्याकेजिङ् तथा बिक्री स्थलको निरीक्षण गर्ने क्रममा खड्गीले यस्तो बताएकी हुन्।

‘कोरोना मानिसले मानिसलाई छोएर मात्र सर्ने होइन। दैनिक रुपमा प्रयोग हुने खाद्य तथा उपभोग्य बस्तुबाट घरमै बसेको मान्छेमा भाइरस सरेर आउन सक्छ,’ उनले भनिन्, ‘संकलित तरकारीलाई निसंक्रमण गरेर बिक्री गरेपछि तरकारीबाट आउन सक्ने सम्भावित जोखिम रोक्न सकिन्छ। काठमाडौंमा भएका पार्टी प्यालेसहरु सञ्चालनमा नआउञ्जेल ती ठाउँलाई प्रयोग गरेर यस्तै गरी प्याकेजिङ् गरिएका तरकारी बिक्री वितरण गर्ने व्यवस्था मिलाउने महानगरको योजना हो।’ उनले सुरक्षित व्यवहारबाट सम्भावित जोखिम घटाउन कामलाई प्रवर्द्धन गरिरहेको समेत बताइन्। 

उपभोक्ताले ढुक्कसँग तरकारी किन्ने वातावरण तयार गरेको मुना कृषि कार्यक्रमका संयोजक युवराज गुरुङले बताए। ‘स्वच्छ, स्वस्थ्य र ताजा तरकारी संकलन गरेर यसलाई धुन्छौं। धोएको तरकारी सुकाएपछि गुणस्तर मापन गरेर प्याकेजिङ् र लेवलिङ् गर्छौं। यसपछि मात्र तरकारी बिक्रीका लागि तयार हुन्छ,’ उनले भने। 

संघको कृषि प्रवर्द्धन समितिका उपाध्यक्ष कपिलदेव थापाका अनुसार नेपालमा उत्पादन भएको ताजा तरकारी स्थानीय र अन्तरराष्ट्रिय उपभोक्ताको पहुँचमा पुर्‍याएर नेपालको कृषि क्षेत्रलाई बढाउने योजना हो।  ‘प्याकेजिङ् तरकारीलाई सुपरमार्केट, एक्सप्रेस, मोबाइल र अनलाइन मार्केटसँगै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन हामीले प्रदेश ३ सरकारसँग सम्झौता गरेका छौं भने महानगरसँग समन्वय गरिरहेका छौं,’ उनले भने।

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्