Kathmandu Press

भारतमा २८ दिनपछि लकडाउन केही खुकुलो

काठमाडौं, वैशाख ८ : भारतमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। तैपनि भारत सरकारले संक्रमण कम रहेका राज्यमा सोमबारदेखि लकडाउन केही खुकुलो गरेको ....

भारतमा २८ दिनपछि लकडाउन केही खुकुलो

काठमाडौं, वैशाख ८ : भारतमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। तैपनि भारत सरकारले संक्रमण कम रहेका राज्यमा सोमबारदेखि लकडाउन केही खुकुलो गरेको छ।

सोमबार मध्याह्नसम्म भारतमा १७ हजार तीन सय नौ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म कोरोनाबाट पाँच सय ५९ जनाको मृत्यु भएको छ। गत २४ घन्टामा मात्रै एक हजार तीन सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

तथापि, भारतले सरकारले सोमबारदेखि लकडाउन केही खुकुलो बनाएको छ। भारतमा लकडाउन हुन थालेको २८ दिन पुगेको छ। महाराष्ट्र, दिल्ली र पञ्जाबबाहेकका राज्यमा लकडाउन खुकुलो बनाइएको हो।

जनजीवन कष्टकर भएकाले कोरोनाको संक्रमण तीव्र नभएका राज्यमा लकडाउन खुकुलो बनाइएको भारतीय मिडियाले जनाएका छन्। संक्रमण कम भएका राज्यका मुख्य शहरहरुमा समेत लकडाउन खुकुलो बनाइएको हो।

भारतको राजधानी दिल्लीमा भने लकडाउन यथावत रहनेछ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले लकडाउनमा तत्काल खुकुलो नहुने बताए। केजरिवालले अप्रिल २७ सम्म यथावत रहने र त्यसपछि समीक्षा गरेर मात्रै निर्णय लिइने जनाएका छन्।

त्यस्तै, मुम्बईमा भने केही खुकुलो पारिएको छ। केही क्षेत्रबाट बाहेक अन्य क्षेत्रमा दैनिक कामकाज सुरु भएको छ। सार्वजनिक परियोजना, सकड, पुल मर्मत, पानी आपूर्ति लगायत अत्यवाश्यक क्षेत्रमा कामकाज सुरु हुनेछ।

त्यस्तै, मिठाइ पसल, होटल, कुरियर पनि खोलिने भएको छ। होटलमा भने डेलिभरी मात्रै गर्न दिइनेछ। होटलमै बसेर खानपिन गर्न दिइनेछैन। यसैगरि आइटी कम्पनीमा ५० प्रतिशत कर्मचारी राखेर काम गर्न दिइनेछ।

पञ्जाबमा भने झन कडाइ गरिएको छ। मुख्यमन्त्री अमरिन्दर सिंहले अहिले कुनै हालतमा पनि लकडाउन खुकुलो नगरिने बताएका छन्। बरु लकडाउन उल्लंघन भए कर्फ्यू लगाइने बताएका छन्।

बिहारमा पनि केही खुकुलो पारिएको छ। पटनालगायत बिहारका सरकारी कार्यालय खुल्ने भएका छन्। कामकाज पनि सुरु हुने जनाएको छ।

फरिदावादमा पनि लकडाउन खुकुलो बनाइएको छ। निर्माणका काम सुरु भएका छन्। अस्पतालमा ओपिडि पनि खुलेका छन्।

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, वैशाख ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्