सुर्खेतका मस्जिदमा धार्मिक गतिविधि बन्द
सुर्खेत, वैशाख ८ : कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द ....

सुर्खेत, वैशाख ८ : कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन्। कोभिड–१९ को संक्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक गतिविधि बन्द गरेको हो।
मस्जिदले इमाम तथा मोहोजिमबाहेक अन्यलाई संयुक्तरुपमा नमाज पढ्न बन्द गरेको हो। वीरेन्द्रनगरस्थित बढी भीडभाड हुने अन्य धार्मिकस्थल भने लकडाउन लागू भएदेखि नै बन्द थिए। जिल्ला प्रशासनले मन्दिर र चर्चमा निगरानी बढाए पनि मस्जिद खुला थिए। यहाँ दुई मस्जिद छन्।
नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्र सुर्खेतले सबैलाई घरमै नमाज पढ्न व्यवस्था मिलाउनुका साथै शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने भीडभाड नगर्न मुस्लिम समुदायलाई अपिल गरेको छ। मदिना अध्ययन केन्द्रका अध्यक्ष फजिर बक्सले पछिल्लो समय जिल्ला बाहिरबाट कुनै पनि धार्मिक व्यक्ति प्रवेश नगरेको बताए।'कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका छौँ', अध्यक्ष बक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आवश्यक परेको खण्डमा मदरसालाई क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार छौँ।'












