Kathmandu Press

अनुमतिविना गाउँ प्रवेश गरे ३० हजार जरिवाना, संक्रमणको डरले पुल बन्द

सिमकोट, वैशाख ८ : हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई ३० हजार रुपैयाँ ....

अनुमतिविना गाउँ प्रवेश गरे ३० हजार जरिवाना, संक्रमणको डरले पुल बन्द

सिमकोट, वैशाख ८ : हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन वडा नं ५ कार्यालयले यस्तो निर्णय गरेको हो।  ५६ घरधुरी रहेको सो वडाले मुगु र हुम्ला जिल्लाको चंखेली सीमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि  नेप्का गाउँमा अनुमतिविना प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए। 

सूचनाको पहुँच नभएकाले युवकलाई दैनिक पालो लगाएर बाटामै राख्ने गरिएको वडाध्यक्ष तामाङले बताए। लकडाउनको अवधिभर आआफ्नो घरमा सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा बस्नसमेत निर्देशन दिइएको जनाइएको छ। 

संक्रमण डरले पुल नै बन्द

उत्तरी नाम्खा गाउँपालिका–३ मा कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन स्थानीयवासीले टुक्सोखोल्मु पुल नै बन्द गरेका छन्। अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन पुल बन्द गरिएको हो। 

कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय युवा पालो मिलाएर पुलमा २४ सै घण्टा खटिने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। वडा नम्बर ३ को खगालगाउँ नजिकै टुक्सोखोल्मु पुल र लामाखोल्सीमा गाउँका युवा पालो मिलाएर खटिन्छन्। 

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन गाउँपालिकाले आवतजावत रोक्नाका साथै लकडाउनको उल्लंघन गरी गाउँ प्रवेश गरे जरिवाना तिराउनेसमेत निर्णय गरेको छ। 

खटिए महिला 

जिल्ला सदरमुकाम सिमकोट वडा नम्बर ५ र ६ का महिला गाउँमा जो कोहीलाई प्रवेश गर्न नदिन खटिएका छन्।  कोरोना संक्रमण डरले सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँ भित्रने मुख्य नाकामा पालो हालेर बिहान ६ देखि राति १० बजेसम्म खटिने गरेको वडा नम्बर ६ का कलशुरा रोकायाले बताए। 

प्रकाशित मिति: ०८:५६ बजे, सोमबार, वैशाख ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्