चार संक्रमित कोरानालाई जितेर फर्किए घर
काठमाडौं, वैशाख ७ : कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा को....

काठमाडौं, वैशाख ७ : कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चार जना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबार सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताए। ती सङ्क्रमितको पनि पिसिआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएको हो।
शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड सङ्क्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो। शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड सङ्क्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी थिइन्।
नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन्। कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो। दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो। चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’ को घोषणा गरेको थियो।
पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’ लाई निरन्तरताको निर्णय गरेको थियो। सरकारले काठमाडौँ उपत्यकासहित देशैभर ‘लकडाउन’ कडाइ गरेको छ। अहिलेसम्म तेस्रोपटक ‘लकडाउन’ थप गरिसकेको छ। सरकारले यही वैशाख १८ सम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ। पछिल्लो विवरणअनुसार कोभिड– १९ का सङ्क्रमित कूल ३१ जनामध्ये चार फर्किएका हुन्।
अन्य २७ जना विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ। उनीहरुमध्ये टेकु अस्पतालमा एक, पाटन अस्पतालमा दुई, बाग्लुङ अस्पतालमा एक, धनगढी अस्पतालमा एक, वीरगञ्जमा चार र विराटनगरमा १३ जना रहेका छन्। काठमाडौँ बाहिरका अस्पतालमा पनि उपचार भइरहेकाले कोभिड उपचारमा सहजता भएको मन्त्रालयले जनाएको छ। रासस





-1792762148.jpeg)





