भक्तपुर नगरपालिकाले भन्यो- परिस्थिति अनुकूल भएपछि मात्र चाडपर्व मनाउनू
काठमाडौं, वैशाख ७ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले देवाली पूजा केही ....

काठमाडौं, वैशाख ७ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले देवाली पूजा केही समय पछि गर्न नगरवासीलाई आग्रह गरेको छ।
पूजामा बढी भिडभाड हुने भएकाले हाललाई क्षमा पूजामात्र गरी परिस्थिति अनुकूल भएपछि देवाली पूजा गर्न नगरपालिकाले अनुरोध गरेको हो। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर, नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि एवं स्थानीय प्रतिनिधिहरुको आइतबार बसेको बैठकले नेपाल सरकारले लागु गरेको बन्दाबन्दीको समयमा देवाली पूजा परेको हुँदा रोग संक्रमणको जोखिमप्रति संवेदनशील हुन सबैमा आग्रह गरेको हो।
बैठकमा वैशाख १४ गते अक्षय तृतीयाका दिन, वैशाख १८ गते तः दिन पछिको दिनमा देवाली पूजा हुने गरेकोमा यो वर्ष क्षमा पूजामात्र गरेर पूजा सम्पन्न गराउने निर्णय भएको प्रमुख प्रजापतिले बताए।
त्यस्तै वैशाख ११ गते मातातीर्थ औंसीको दिन आ–आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर घरबाट ननिस्किन र सामान्य रुपमा आमाको मुख हेर्ने पर्व सम्पन्न गर्न नगरबासीमा आग्रह गरेको छ। स्वस्थ रहे चाडपर्व फेरिपनि मनाउन सकिने भन्दै प्रमुख प्रजापतिले नगरवासीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गर्दै आएको बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


