Kathmandu Press

कोरोना परीक्षण सुस्त, १० लाख मानिसमा २६७ को मात्रै जाँच

काठमाडौं, वैशाख ७ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लकडाउनमा मात्रै भर नपरेर कोरोना भाइरसकाे परीक्षण बढाउन आग्रह गर्दै आएको छ। विभिन्न देशले परीक्ष....

कोरोना परीक्षण सुस्त, १० लाख मानिसमा २६७ को मात्रै जाँच
रिवाज राई

काठमाडौं, वैशाख ७ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लकडाउनमा मात्रै भर नपरेर कोरोना भाइरसकाे परीक्षण बढाउन आग्रह गर्दै आएको छ। विभिन्न देशले परीक्षण तीव्र पारेका छन्। तर नेपालमा भने अझै सुस्त नै छ।

नेपालमा कोरोना पहिलो संक्रमण गत माघ १० गते पुष्टि भएको थियो। त्यसयताको चार महीनाको अवधिमा आठ हजार १७ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो भनेको १० लाख मानिसमा २६७ जनाको परीक्षण गरिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म परीक्षण गरिएकामध्ये ३१ जनामा कोरोना देखिएको छ। जसमा दुई जना निको भइसकेका छन भने २९ जना उपचारका क्रममै छन्। त्यस्तै, अझै एक सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

तर, जुन गतिमा कोरोनाको परीक्षण गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। लकडाउन गरेको २६ दिन पुग्दा पनि सरकारले परीक्षणमा जोड नदिएको तथ्यांकले देखाएको छ।विश्व स्वास्थ्य संगठनले लकडाउनसँगै परीक्षणमा जोड दिनुपर्ने जनाएको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पनि व्यापक परीक्षण गर्नुपर्ने सचेत गराएको छ।

संसारका अन्य देशले पनि परीक्षणलाई व्यापक बनाएका छन्। सबैभन्दा परीक्षण दर राम्रो आइल्यान्डको रहेको छ। जहाँ १० लाखमा एक लाख २० हजारको परीक्षण गरिएको छ। त्यसपछि यूएईले १० लाखमा ७७ हजार पाँच सय ५० जनाको परीक्षण गरेको छ। अहिलेसम्म यूएईमा सात लाख ६७ हजारको परीक्षण भएको छ। जसमा ६ हजार तीन सय दुई जनामा संक्रमण देखिएको छ भने ३७ जनाको मृत्यु भएको छ।

त्यस्तै, परीक्षण दर राम्रो भएकामा लक्जेम्बर्ग, बहराइन पनि रहेका छन्। लक्जेम्बर्गले १० लाखमा ५३ हजार एक सय २० जनाको परीक्षण गरेको छ भने बहराइनले १० लाखमा ४८ हजार पाँच सय २४ जनाको परीक्षण गरेको छ।

कोरोनाको महामारी फैलिरहेका देशले पनि परीक्षणलाई तीव्र पारेका छन्। अमेरिकामा ३७ लाख २२ हजार दुई सय पाँच जनाको परीक्षण गरेको छ। जसमा सात लाख ३८ हजार नौ सय १९ जनामा संक्रमण देखिएको छ भने ३९ हजार नौ सय १५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, स्पेनमा नौ लाख ३० हजार दुई सय ३० जनाको परीक्षण गरिएको छ। जसमा एक लाख ९४ हजार चार सय १६ जनामा संक्रमण देखिएको छ भने २० हजार ६ सय २९ जनाको मृत्यु भएको छ। इटालीमा १३ लाख पाँच हजार आठ सय ३३ जनाको परीक्षण गरिएको छ। यसमा एक लाख ७५ हजार नौ सय २५ जनामा संक्रमण भेटिएको छ भने २३ हजार दुई सय २७ जनाको ज्यान गएको छ।

फ्रान्सले चार लाख ६२ हजार ६ सय ६३ जनाको परीक्षण गरेको छ भने एक लाख ९१ हजार सात सय ६३ जना बिरामी भेटिएका छन। जसमा १९ हजार दुई सय २३ जनाको मृत्यु भएको छ। अहिलेसम्म सबैभन्दा राम्रो स्वास्थ्योपचारको व्यवस्था जर्मनीमा देखिएको छ। जर्मनीमा १७ लाख २८ हजार तीन सय ५७ जनाको परीक्षण गरिएको छ। यसमा एक लाख ४३ हजार सात सय २४ जनामा कोरोना देखिएको छ भने चार हजार पाँच सय ३८ जनाको मृत्यु भएको छ। अहिलेसम्म ८८ हजार निको भएर घर फर्केका छन्।

आइतबार मध्याह्नसम्म २३ लाख ३३ हजार दुई सय ४० जनामा कोरोना देखिएको छ। जसमध्ये एक लाख ६० हजार आठ सय १८ जनाको मृत्यु भएको छ। अहिलेसम्म ६ लाख तीन सय २३ जना निको भएर घर फर्केका छन्।

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्