Kathmandu Press

प्रहरी दुर्व्यवहारको विरोधमा औषधि पसल बन्द

पर्सा, वैशाख ७ : नेपाल औषधि व्यवसायी संघ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ। अ‍ैषधि व....

प्रहरी दुर्व्यवहारको विरोधमा औषधि पसल बन्द

पर्सा, वैशाख ७ : नेपाल औषधि व्यवसायी संघ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ। अ‍ैषधि व्यवसायी संघ पर्साका अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोधमा संघले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो।
 
तरकारी खरिद गर्न निस्केका अन्सारीलाई प्रहरीले दुर्व्यवहार गरी मोटरसाइकल नियन्त्रणमा लिएको विरोधमा संघले पसल बन्द गराएको नेपाल औषधि व्यवसायी संघ प्रदेश २ का महासचिव पप्पु झाले जानकारी दिए। उनले लकडाउनका क्रममा औषधि व्यवसायीमाथि प्रहरीले गर्दै आएको दुर्व्यवहारलाई रोक्न स्थानीय प्रशासनलाई पटकपटक जानकारी दिँदा पनि घटना रोकिनुको सट्टा पर्साका अध्यक्षमाथि नै दुर्व्यवहार भएपछि बाध्य भएर पसल बन्द गराउनु परेको बताए।

जिल्लामा सञ्चालित औषधि पसल बन्द भएपछि उपभोक्ता भने मारमा परेका छन्। अतिआवश्यक औषधि खरिद गर्न नपाउँदा ज्यान नै जोखिममा पर्ने हो कि भन्नेमा उपभोक्ता चिन्तित छन्। 

यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसँग बुझ्दा उनले तोकिएको समयमा खाद्य सामग्री खरिद गर्न जाँदा सवारी साधन प्रयोग गर्न स्थानीय प्रशासनले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेकाले अन्सारीको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताए। उनले बन्द गराइएका पसल तत्काल खोल्न संघका पदाधिकारीसँग छलफल भइरहेको जानकारी दिए।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्