Kathmandu Press

एनआरएनका निवर्तमान उपाध्यक्ष कुल आचार्य आइसोलेसनमा भर्ना 

काठमाडौँ, वैशाख ७ : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष कुल आचार्य आइसोलेसनमा भर्ना भएका छन् ....

एनआरएनका निवर्तमान उपाध्यक्ष कुल आचार्य आइसोलेसनमा भर्ना 

काठमाडौँ, वैशाख ७ : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष कुल आचार्य आइसोलेसनमा भर्ना भएका छन् ।

एनआरएन बेलायतका पूर्व अध्यक्ष समेत रहेका आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै आफुँमा केही कोरोनाका लक्षण देखिएसँगै आइसोलेशनमा बसेको जानकारी दिएका हुन् ।

आचार्यले लेखेका छन्, “म आफैं पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ, महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु।”

उनले लेखेको फेसबुक स्टाट्स :

आदरणीय सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,

आज कोरोना महामारीले बिश्व आक्रान्त छ । हरेक व्यक्तिको ज्यान जोखिममा रहेको छ । यो संकटको घडीमा कोरोनासंग लडीरहनु भएका सबैजनालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।साथै दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु ।

म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । “बाँचौं र बचाउँ, महामारीबाट जोगिउं” भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।

हिजो बिबिध कारणले मातृभूमिको अर्थतन्त्र धरासायी भएको बेला आफ्नो पसिना र रगत बगाएर प्रवासबाट रेमिटान्सले धानेका खाडी, मलेसिया लगायत बिश्वभर छरिएर बसेका मजदुरहरुको योगदान अवस्य पनि उल्लेखनीय छ ।

प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेल जस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेको खबर छन् । स्थानीय प्रतिनिधिहरुले सहयोग गरिरहनु भएका खबर पनि आएका छन् । वहाँहरुको पहललाइ हार्दिक धन्यवाद दिन चाहन्छु । ती अधिकांश नागरिकहरु घर फर्किन चाहेका छन् । साइप्रस, मलेसिया लगायत अन्य देशहरूबाट धेरै नेपालीहरू घर फर्किन चाहेका छन् । राज्यका नागरिकको अभिभावक सरकारलाई मजदुरको देश हुन्छ र मातृभूमि र परिवार हुन्छ भन्ने गतिलो सन्देश दिने अवसर रहेको छ ।

आज घर फर्किन चाहने नागरिकलाई जसरी बिश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसंग अनुरोध गर्दछु । म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु ।

गैर आवासीय नेपाली संघका साथीहरु अहोरात्र खटिरहनु भएको छ । वहाँहरुको उच्च सम्मान गर्दै तमाम घर फर्किन चाहने प्रवासीहरुलाई सुरक्षित रुपमा आफ्ना परिवारसम्म पुर्याउन केके गर्न सकिन्छ त्यहाँ ध्यान केन्द्रित गर्न जरुरी देखेको छु ।

हाल नेपाल बाहिर प्रवासमा धेरै नेपालीहरुले ज्यान गुमाएको संकटको घडीमा, जन्म घरबाट टाढा प्रवासमा रहेकाहरूलाई सबै भन्दा धेरै मातृभूमीको माया र स्नेहको खाँचो देखेको छु ।

बेलायतमा धेरै भूपू गोर्खा बुवाआमा, आफन्तहरु गुमाउनु परेको पीडा हामीलाई छ । हामीले भूपू गोर्खाहरुको बिशेष सुरक्षा अपनाउनु पर्ने अवस्था देखिएको छ । अनि बेलायत सरकारलाई तिनको बिशेष हेरचाहको लागि पनि अनुरोध गर्नुपर्ने अवस्था छ ।

अमेरिका, पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका प्रवासीहरूको समस्या अनि कतीपय काग़ज़को समस्याले अप्ठेरोमा परेकाहरूलाई सहयोग ज़रूरी देखिएको छ ।

त्यसै गरेर बेलायत, साइप्रस लगायत विभिन्न देशमा नेपाली बिद्यार्थीहरुले दुख भोगी राख्नु भएका खबरहरु आएका छन् । वहाँहरुलाई खाना, बस्न लगायत सहयोग गर्ने प्रवासी मनहरुलाई हार्दिक नमन गर्दछु । वहाँहरुलाई उचित रेखदेख गर्नुपर्ने अवस्था देखिएको छ ।

यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न हामी सबै एकजुट हौं । यो बेला फुटेर हैन जुटेर अघि बढ्ने बेला हो । कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमीको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु ।

दुखमा परेका प्रवासका नेपालीहरुलाई आवश्यकता हेरी गैर आवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट पनि सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु।
सबैसंगै मिलेर सहमति, सहकार्य र एकताको भाव संगै अघि बढ्न तमाम ग़ैरआवासीय नेपाली साथीहरु तथा नेपाली मनहरूमा हार्दिक अपिल पनि गर्दछु ।

कुल आचार्य
लण्डन
१८ अप्रिल २०२०

प्रकाशित मिति: ०८:५५ बजे, आइतबार, वैशाख ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्