ऋषि धमलालाई बोलाएर सिआइबीले गर्यो सोधपुछ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ।काठमाडौं, कात्तिक २७ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ।
प्राइम टेलिभिजनमा प्रसारित अन्तर्वातामा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा एक व्यक्तिले आफूलाई प्रत्यक्षदर्शी बताएका थिए।
अन्तर्वार्ता सार्वजनिक भएपछि प्रत्यक्षदर्शी बताउने गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई सिआइबीले मंगलबार नै सोधपुछ गरेको थियो।
सिआइबीले त्यसबारे बुझ्नका लागि धमलालाई बुधबार कार्यालयमा बोलाएर सोधपुछ गरेको हो।
सोधपुछको क्रममा धमलाले अर्यालले टेलिभिजनको कार्यालयमा आएर अन्तर्वार्ताका लागि दबाब दिएका कारण आफू अन्तर्वार्ता लिन बाध्य भएको बताएका छन्।
अर्यालले निर्मला हत्या प्रकरणको आफू प्रत्यक्षदर्शी मात्र नभई अभियुक्त को हो भन्ने पनि थाहा भएको बताएका थिए।
आफूलाई राज्यले सुरक्षाको ज्ञारेन्टी दिए ती व्यक्ति को हुन् भनेर जानकारी दिन सक्ने दाबी पनि उनले गरेका थिए।
मंगलबार सिआइबीले चार घन्टा अर्यालसँग सोधपुछ गरी बुधबार हाजिर हुनेगरी छाडेको थियो।
बुधबार सम्पर्कविहीन भएपछि सिआइबीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।