दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच
गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए ।जनकपुरधाम, कात्तिक २६ : यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।
पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताए ।
उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।
विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ ।
जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ ।
कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आएका ७० वर्षीय रामदयाल माली भण्डारीले बताए । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष रु २० लाखको फूल बिक्री गरेको जानकारी दिए ।
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ ।