Kathmandu Press

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

अधिकारीमाथि गैरकानुनी रूपमा मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ।
मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, कात्तिक २५ । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरी प्रहरीले अधिकारीलाई काठमाडौं ल्याएर अदालत उपस्थित गराएको थियो। 

जिल्ला अदालत काठमाडौंले उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

अधिकारीमाथि गैरकानुनी रूपमा मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ।

केही दिनअघि उनी सरकारलाई जानकारी नै नगराई जापान गएका थिए। उनीसँगै गएका तीन जनासहित अधिकारीलाई पनि डिपोर्ट गरिदिएपछि घटना सार्वजनिक भएको थियो। 

सो प्रकरणमा अहिले ६ जनालाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूले जापान जानका लागि मन्त्री अधिकारीलाई रकम बुझाएको बयान प्रहरीलाई दिएका छन्। 

जापान जान लागेका अधिकारी डिपोर्ट भएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा समेत दिएका थिए। 

लगत्तै उनीमाथि कारबाही हुनुपर्ने आवाज उठेपछि शनिबार मात्रै एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको थियो। 

शनिबार नै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पनि कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गर्दै अधिकारीमाथि अनुसन्धानका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, कात्तिक २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्